बाल दिवस २०८३

६२औं राष्ट्रिय बाल दिवसका अवसरमा देशभरिका सम्पूर्ण बालबालिकाहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यो वर्ष रसुवाको भोटेकोशीमा बिनासकारी एवम् प्राकृतिक बिपत्तीका रुपमा आएको बाढीबाट भएको मानवीय र भौतिक क्षतिका कारण असङ्ख्य बाल बालबालिकाहरुले आफ्नो तथा आफ्ना आमा बुवा लगायत परिवारका प्रियजनहरुका साथै बासस्थान पनि गुमाएका छन्।जसको क्षतिपूर्ति संभव छैन। जुन बालबालिकाहरु जिवित छन् उनीहरु पनि त्रासदीपूर्ण घटनाका कारण शारीरिक र मानसिक रुपमा पीडामा छन् र सामान्य रुपमा फर्कन हामी सबैको आत्मिक साथ र सहयोगको आवश्यकता छ।किनकी धमिलो पानीमा माछा मार्नेहरुसंगबाट पनि सुरक्षित गर्नुपर्ने हुन्छ।जोखिममा रहेका ती अबोधहरुले थाहा नपाएका थुप्रै सुरक्षा चुनौतीहरू समेत उनीहरुमाथि थपिएको छ।रक्षक बनेर जानेहरु भक्षक हुनसक्ने तर्फ संवन्धित निकायहरूको ध्यान जान आवश्यक छ। हामीले समाजमा देखेका र भोगेका थुप्रै घटनाहरूले पनि समाजमा भइरहेको वा हुनसक्ने सम्भावित जोखिमप्रति सजग रहन र बालबालिकाहरुलाई उद्धारका नाममा दुश्चक्रमा फस्न नदिन संवन्धित सवै जिम्मेवार निकायहरू र सचेत नागरिकहरूमा नेपाल बाल संगठन (बालमन्दिर) हार्दिक अपील गर्दछ। नेपाल बाल संगठन २०२१ सालमा स्थापना भै २०२२ साल भाद्र ४ गतेबाट बाल दिवसलाई राष्ट्रिय रुपमा मनाउने अधिकार बाल संगठनले प्राप्त गरे पश्चात अविच्छिन्न यो दिवस विभिन्न कार्यक्रम सहित बाल उत्सवको रुपमा मनाउदै आईरहेकाछौं।यो वर्ष भाद्र १० गतेको रसुवा जिल्लाको भोटेकोशीमा आएको भीषण बाढीका कारण बाल दिवस विशेषका रुपमा मनाउन सकिएन। हामीले सार्वजनिक गरिएका सम्पूर्ण औपचारिक प्रतियोगितात्मक कार्यक्रमहरू भाद्र १४ गतेको निर्णयबाट रद्द गरेका छौं। नेपाल बाल संगठनले देशका प्रत्येक (सुगम/दुर्गम) जिल्लाहरुमा ६३ वर्ष अघि स्थापना गरेका बाल मन्दिर विद्यालय जुन अहिलेसम्म अस्तित्वमा छन् ती हरेकले यो बाल संस्थाको इतिहास बोल्छन, किनकी मेची देखि महाकालीसम्म नेपालको पहिलो पूर्व प्राथमिक (pre-school) विद्यालय स्थापना र संचालन गर्ने पहिलो निकाय बाल संगठन नै हो, जसबाट लाखौंलाख (बालबालिकाहरु)व्यक्तिहरु यस संस्थाबाट लाभान्वित हुनुका साथै शिक्षित र दीक्षित भएका छन्।त्यो समयमा यो अमूल्य शैक्षिक क्रान्तिको शुरुवात हो भन्ने हामीले अनुभूत गरेकाछौं। ६२ औं राष्ट्रिय बाल दिवसका अवसरमा सरकारद्वारा तय गरिएको नारा “बालापनको रक्षा,भविष्यको सुरक्षा” सार्थक बनोस सवै बालबालिकाहरुलाई शुभकामना। ” समृद्ध राष्ट्रको मूल आधार, सुरक्षा र मुस्कान सहितको बाल अधिकार” बाल संगठनको मूल मंत्र रहेको हुँदा यसलाई सार्थक बनाउन हामी प्रतिबद्ध छौं।बालबालिकाहरु खुशी र सुरक्षित भएमात्र राष्ट्र समृद्ध बन्छ। अन्त्यमा जोखिमयुक्त जीवन बिताई रहेका, आमाबुवाबिहिन र संरक्षण बिहिन बालबालिकाहरुलाई नेपाल बाल संगठन( बाल मन्दिर )आफ्नो संरक्षणमा लिन, अल्पकालीन र दीर्घकालीन संरक्षकत्व प्रदान गरी सुनिश्चित भविष्य निर्माणमा सारथी बन्ने प्रतिवद्धता व्यक्त गर्दछ।यो सम्वेदनशील घडीमा संवन्धित सवै पक्षहरूसँग बिना आग्रह पूर्वाग्रह बालबालिकाहरुको दीर्घकालीन हीतलाई केन्द्रभागमा राखी कार्य अगाडी बढाउन हामी हार्दिक अनुरोध गर्दछौं।

सोही बिपत्तिमा परी घाइते हुनुभएका बालबालिकाहरुसहित सम्पूर्णको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै जोखिममुक्त जीवनयापनको व्यवस्थाका लागि सरकार,नागरिक समाज तथा उद्योगी/व्यवसायी र सहृदयी मनहरुमा हार्दिक अनुरोध गर्दछौं। “पुन: ६२औं राष्ट्रिय बाल दिवसको सवै बालबालिकाहरुलाई असीमित शुभकामना।” कल्याणमस्तु: